
काठमाडौं। फोर नेसन्स कप बक्सिङ प्रतियोगितामा सहभागी हुन नेपाली राष्ट्रिय बक्सिङ टोली सोमबार भुटानको थिम्पु प्रस्थान गरेको छ। टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमका बीच बिदाइ गरे।
अप्रिल ११ देखि १३ तारिखसम्म थिम्पुमा आयोजना हुने प्रतियोगितामा पुरुषतर्फ ४८ केजीमुनि लालप्रसाद उप्रेती र ५१ केजीमुनि चन्द्रबहादुर थापा प्रतिस्पर्धा गर्ने छन्। महिलातर्फ ४८ केजीमुनि रमिशा श्रेष्ठ, ५० केजीमुनि अस्मिता दुवाल र ५४ केजीमुनि वर्षा श्रेष्ठले नेपालको प्रतिनिधित्व गर्नेछन्।
टोलीमा नेपाल बक्सिङ महासंघका उपाध्यक्ष श्यामकाजी अवाले अफिसियलको रूपमा रहेका छन्। प्रशिक्षकमा मुख्य प्रशिक्षक प्रवीण तुलाधर र दीपक महर्जन छन् भने आईटीओमा पुस्करराज पन्त, टेक्निकलमा असिम न्यौपाने तथा निर्णायकहरूमा धनकुमार मैनाली, सन्तोष आले मगर र अनुराधा लामा सहभागी छन्।
उक्त प्रतियोगितामा चुच्चेपाटीस्थित बक्समान्डु बक्सिङ जिमले पनि नेपाल बक्सिङ महासंघको स्वीकृतिमा छुट्टै टोली सहभागी गराउने भएको छ। महासंघका महासचिव मानबहादुर भण्डारीका अनुसार बक्समान्डु टोलीमा पुरुष ५१ केजीमुनि लक्ष्मण राई, ५७ केजीमुनि प्रवल उप्रेती र ६० केजीमुनि छिरिङ वाङ्दी शेर्पा रहेका छन्। प्रशिक्षकका रूपमा उमेश कटुवाल र सन्दीप श्रेष्ठ रहेका छन्।
दुवै टोली प्रतियोगिता अघि अप्रिल ८ देखि १० तारिखसम्म थिम्पुमा हुने प्रशिक्षण शिविरमा सहभागी हुनेछन्।



