
काठमाडौं, असोज २६ – अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा ऐतिहासिक स्वर्ण पदक जितेकी एरिका गुरुङलाई नेपाल प्रहरी श्रीमती संघले नगदसहित सम्मान गरेको छ।
गत असोज १७ देखि १९ सम्म मलेसियाको क्वालालम्पुरमा सम्पन्न डब्लुकेएफ कराते वान सिरिज ‘ए’ मा एरिकाले नेपालका लागि पहिलोपटक स्वर्ण पदक जितेकी थिइन्। यस उल्लेखनीय उपलब्धिको कदर गर्दै नेपाल प्रहरी श्रीमती संघले आइतबार भृकुटीमण्डपस्थित कार्यालयमा आयोजित कार्यक्रममा एरिकालाई २५ हजार पाँच सय ५५ रुपैयाँसहित दोसल्ला र सम्मानपत्र प्रदान गरेको हो।
संघकी अध्यक्ष भावना श्रेष्ठ खापुङले एरिकालाई सम्मान गर्दै नेपाल प्रहरी परिवारले एरिकाको उपलब्धिमा गर्व महसुस गरेको बताइन्। सो अवसरमा संघले नेपाली राष्ट्रिय कराते टोलीका प्रशिक्षक तथा १३औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण विजेता मन्डेकाजी श्रेष्ठलाई पनि सम्मान गरेको थियो।
नेपाल पुलिस क्लबकी खेलाडी एरिका गुरुङले प्रतियोगिताको ६८ केजी तौलमाथिको कुमितेतर्फ स्वर्ण जितेकी हुन्। उनले ट्युनिसियाकी मसाक्नी टेस्निम, चेक रिपब्लिककी हाकोभा अमाली र पोल्यान्डकी डेनिस्जेवस्का जुलियालाई पराजित गरेकी थिइन्। सेमिफाइनलमा हाकोभालाई ७–० ले पराजित गरेकी एरिकाले फाइनलमा मसाक्नीलाई २–० ले हराउँदै स्वर्ण पदक जितेकी थिइन्।
एरिका कराते वान सिरिज ‘ए’ मा स्वर्ण पदक जित्ने पहिलो नेपाली खेलाडी बनेकी हुन्।



