काठमाडौं—अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आईटीएफ) का अन्तर्राष्ट्रिय अम्पायर घमबहादुर थापाले इटालीको जेसोलोमा सम्पन्न २३औं आईटीएफ तेक्वान्दो विश्व च्याम्पियनसिपमा निर्णायकको जिम्मेवारी सम्हालेका छन्।
अक्टोबर ३ देखि सुरु भई आइतबार सम्पन्न उक्त प्रतियोगितामा थापालाई आईटीएफ अम्पायर कमिटीले निर्णायकका रूपमा मनोनीत गरेको थियो। सो प्रतियोगिताका लागि विभिन्न देशका ८० जना अम्पायर छनोट गरिएका थिए, जसमा थापा पनि एक थिए।
नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका महासचिव समेत रहेका थापा यसअघि सन् २०१९ मा बुल्गेरियामा सम्पन्न २१औं आईटीएफ विश्व च्याम्पियनसिपमा पनि निर्णायकको रूपमा सहभागी भएका थिए।
थापाले यसअघि दक्षिण एसियाली, एसियाली, विश्व कप र विभिन्न महादेशीय प्रतियोगिताहरूमा समेत निर्णायकको भूमिका निर्वाह गरिसकेका छन्।



