
आयोवा, अमेरिका — करिब पाँच दशक अघि नेपालको एक सानो गाउँबाट सुरु भएको यात्राले २०२५ मा अमेरिका पुगेर ऐतिहासिक उपलब्धिमा परिणति पाएको छ। बाँकेका अरुण राज भण्डारीले अमेरिकाको आयोवा राज्यको वेस्ट डेस मोइनमा सम्पन्न ‘नेशनल सिनियर गेम्स २०२५’ मा सहभागी भई तीन पदक जित्दै नेपाली समुदायको शिर उच्च बनाएका छन्।
६२ वर्षीय भण्डारीले मिश्रित युगलमा स्वर्ण, पुरुष एकलमा रजत, र पुरुष युगलमा कांस्य पदक जितेका हुन्। करिब १२,६०० खेलाडीहरूको सहभागिता रहेको यस प्रतियोगितामा उनले आफ्नो पहिलो सहभागितामै उल्लेखनीय सफलता हात पारेका हुन्।
अरुणको ब्याडमिन्टन यात्रा झन्डै ५० वर्षअघि सुरु भएको हो, जब उनले १३ वर्षको उमेरमा राष्ट्रिय प्रशिक्षकसँग प्रशिक्षण लिन थाले। त्यो समय नेपालमा ब्याडमिन्टन अभ्यास गर्नु आर्थिक तथा भौतिक दृष्टिले चुनौतीपूर्ण थियो। यद्यपि ती चुनौतीहरूमाझ उनले पहिलो पटक १९७९ मा राष्ट्रिय प्रतियोगितामा उपविजेता बनाउँदै आफूलाई राष्ट्रिय स्तरमा चिनाएका थिए।
ब्याडमिन्टनप्रतिको गहिरो लगावका कारण उनले शिक्षादेखि राष्ट्रिय प्रतिस्पर्धासम्म खेललाई निरन्तरता दिए। पछिल्ला २० वर्षदेखि अमेरिका निवासी रहेका अरुण, हाल इन्डियानाको एक ब्याडमिन्टन क्लबमा प्रशिक्षण लिंदै आएका छन्। उनी हालसम्म थुप्रै प्रतियोगितामा सहभागी भइसकेका छन् तर यो प्रतियोगिता उनको पहिलो अमेरिकी राष्ट्रिय वरिष्ठ सहभागिता हो।
यसपटक उनले आफ्नो युगल जोडी सुपाया ‘सामी’ टाम्वोहर्ल ८८ सँग सहभागिता जनाएका थिए। दुवैले सँगै क्लबमा लामो समयदेखि अभ्यास गर्दै विभिन्न प्रतियोगितामा सफलतासमेत प्राप्त गरिसकेका छन्। खेलप्रति उनीहरूको समर्पण र आत्मविश्वासले यस प्रतियोगितामा पनि उत्कृष्ट प्रदर्शन सुनिश्चित गर्यो।
यो प्रतियोगिता अरुणका लागि केवल खेल मात्र होइन, जीवनभरको साधना र समर्पणको उत्सव थियो। सक्रियता, निरन्तरता, र खेलप्रतिको प्रेमले उनलाई यो उचाइमा पुर्याएको छ। उनीजस्ता खेलाडीहरूले नेपाली खेल इतिहासलाई अन्तर्राष्ट्रिय मञ्चमा उजागर गर्नुको साथै, प्रवासी नेपाली समुदायभित्र प्रेरणाको स्रोत बनेका छन्।



