
काठमाडौं– नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्काले अस्ट्रेलियामा हुने चार वटा विश्व वरीयता प्राप्त तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन्।
उनी आगामी अगस्ट १४ देखि १७ सम्म अस्ट्रेलियाको गोल्ड कोस्टस्थित कारा रंगशालामा हुने जी–३ डब्लुटी प्रेसिडेन्ट कप ओसिएनिया, जी–३ प्रेसिडेन्ट कप पारा डिभिजन, जी–२ अस्ट्रेलियन ओपन, र पारा अस्ट्रेलियन ओपन गरी चार प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको रूपमा उपस्थित हुनेछन्।
खड्काले ती प्रतियोगितामा ग्योरोगी ९लड़ाइँ० र पुम्से ९कला प्रदर्शन० दुवै विधामा निर्णायकको जिम्मेवारी लिनेछन्। यी प्रतियोगितामा उनी अघिल्ला संस्करणहरूमा पनि निर्णायकको रूपमा काम गरिसकेका छन्, जसले उनको अनुभव र क्षमतालाई झनै पुष्ट गर्छ।
अस्ट्रेलिया प्रस्थान गर्नु अघि खड्काले अगस्ट ९ र १० मा मलेसियाको क्वालालम्पुरमा आयोजना हुने मलेसियन ओपन तेक्वान्दो प्रतियोगितामा पनि निर्णायकको रूपमा सहभागी हुनेछन्। उनी शुक्रबार मलेसिया प्रस्थान गर्ने र सोही स्थानबाट अस्ट्रेलिया जाने कार्यक्रम रहेको जनाइएको छ।
ग्योरोगी, पुम्से र पारा तेक्वान्दोका प्रमाणित अन्तर्राष्ट्रिय निर्णायक खड्का, हाल नेप्लिज तेक्वान्दो एकेडेमीका अध्यक्ष समेत हुन्। उनले चार दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका सफलतापूर्वक निर्वाह गरिसकेका छन्।



