
काठमाडौं – जापानको फुजी सिजुकामा अप्रिल ७ देखि १२ तारिखसम्म हुने पारा विश्व पौडी सिरिज प्रतियोगितामा नेपालका दुई खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्। प्रतियोगितामा हर्कमान घर्ती (पुरुष) र समना गैरे (महिला) ले नेपालको प्रतिनिधित्व गर्नेछन्।
पुरुषतर्फ हर्कमान घर्तीले चार स्पर्धामा प्रतिस्पर्धा गर्नेछन्। उनले १०० मिटर फ्रिस्टाइल, ५० मिटर ब्याकस्ट्रोक, ५० मिटर बटरफ्लाइ, तथा १५० मिटर व्यक्तिगत मिड्ले स्पर्धामा प्रतिस्पर्धा गर्नेछन्।
महिलातर्फ समना गैरेले दुई स्पर्धामा भाग लिनेछिन्। उनले ५० मिटर फ्रिस्टाइल र १०० मिटर ब्रेस्टस्ट्रोकमा प्रतिस्पर्धा गर्नेछिन्। दुबै खेलाडीका लागि यो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ।
नेपाल टोलीका व्यवस्थापक राष्ट्रिय पारा पौडी संघ नेपालका अध्यक्ष सरोज श्रेष्ठ रहेका छन्। टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, कार्यकारी समिति सदस्य कमलबहादुर भट्टराई, तथा सदस्य अञ्जना श्रेष्ठले बिहीबार एक कार्यक्रमबीच बिदाइ गरे।
नेपालको टोली शनिबार जापान प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।



