
काठमाडौं । नेपाल मास्टर्स एथलिट संघले थाइल्यान्डको च्याङराइमा सम्पन्न खुला अन्तर्राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा पदक जितेका भेट्रान खेलाडीलाई आइतबार विशेष सम्मान गरेको छ।
फेब्रुअरी १३ देखि १६ सम्म आयोजित उक्त प्रतियोगितामा नेपाली भेट्रान खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै १ रजत र २ कांस्य पदक जित्न सफल भएका थिए।
पुरुष ५५–६० वर्ष उमेर समूहको लङजम्प स्पर्धामा कृष्णप्रसाद सिग्देलले रजत पदक जित्दै नेपालको प्रतिष्ठा उचो बनाए। त्यस्तै, पुरुष ८०–८५ वर्ष उमेर समूहको १ हजार ५ सय मिटर दौडमा ग्रिवानविक्रम शाहले कांस्य पदक हात पारे। साथै, पुरुष ५५–६० वर्षको ५ हजार मिटर दौडमा सुनिल शाक्यले कांस्य जित्दै नेपाललाई थप गौरवान्वित बनाए।
यस अवसरमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ र नेपाल मास्टर्स एथलिट संघका अध्यक्ष जीएन दाई शर्माले पदक विजेताहरूलाई प्रशंसा पत्र प्रदान गरी सम्मान गरे।
समारोहमा खेलाडीहरूको मेहनत र प्रतिबद्धताको प्रशंसा गर्दै सदस्य–सचिव घिसिङले भने, “भेट्रान खेलाडीहरूको समर्पण र कडा परिश्रमले नेपाली खेलकुद क्षेत्रलाई थप प्रेरणा दिएको छ।”
संघका अध्यक्ष जीएन दाई शर्माले पनि पदक विजेताहरूको प्रयासको प्रशंसा गर्दै भेट्रान खेलाडीहरूको क्षमता र अनुभवले आगामी खेलकुद पुस्तालाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे।
सम्मानित खेलाडीहरूले यो सफलतालाई नेपाली भेट्रान खेलकुदको प्रगतिप्रति समर्पित गर्दै आगामी प्रतियोगिताहरूमा अझ उत्कृष्ट प्रदर्शन गर्ने प्रतिबद्धता व्यक्त गरे।
उक्त सम्मान समारोहले भेट्रान खेलाडीहरूको मनोबल उच्च बनाएर उनीहरूलाई खेलकुदमा अझ उत्साहित गराएको छ।



