काठमाडौं । नेपाल खेलकुद महासंघ समाजवादीको राष्ट्रिय महाधिवेशन भोलि अर्थात् चैत्र १८ गतेदेखि नयाँ बानेश्वरको थापा गाउँमा सुरु हुँदैछ। महाधिवेशन दुई दिनसम्म अर्थात् चैत्र १८ र १९ गतेसम्म चल्नेछ।
महाधिवेशनको उद्घाटन पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गर्ने कार्यक्रम रहेको छ। यस महाधिवेशनमा देशभरका ७७ जिल्ला, ७ प्रदेश र ३७ खेल संघहरूबाट गरी ४ सय ४२ जना प्रतिनिधि सहभागी हुनेछन्।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य सचिव तथा महासंघका अध्यक्ष केशवकुमार विष्टको अध्यक्षतामा हुने यस महाधिवेशनले आगामी कार्यकालका लागि केन्द्रिय कमिटीको निर्वाचन मार्फत नयाँ नेतृत्व चयन गर्नेछ।
महासंघका प्रचार विभाग प्रमुख नारायणदास गमालका अनुसार महाधिवेशनमा खेलकुद क्षेत्रको विकास, संगठन विस्तार तथा खेलकुदको सुदृढीकरणमा केन्द्रित एजेन्डाहरूमा छलफल हुनेछ। महाधिवेशनले खेलकुद संघको भावी रणनीति तथा कार्ययोजनामा समेत विशेष ध्यान दिनेछ।
समाजवादी विचारधारामा आधारित नेपाल खेलकुद महासंघले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताहरूमा खेलाडीहरूको सहभागिता तथा क्षमता अभिवृद्धिका लागि विशेष पहल गर्ने योजना बनाएको छ।
यस महाधिवेशनले खेलकुद क्षेत्रमा देखिएका समस्या समाधानका उपायहरू र खेलकुद संरचनाको सुधारमा समेत छलफल गर्ने अपेक्षा गरिएको छ। नयाँ नेतृत्व चयनपछि महासंघले खेलकुद क्षेत्रको समग्र विकासका लागि थप प्रभावकारी कदम चाल्ने विश्वास लिइएको छ।




