
काठमाडौं । त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई पराजित गर्दै केपी ओली कप च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ।
सोमबार ललितपुरस्थित एन्फा कम्प्लेक्स, सादोबाटोमा भएको खेलमा आर्मीले पुलिसलाई २-० गोल अन्तरले हरायो। आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरेका थिए।
खेलको १९औं मिनेटमा नवयुग श्रेष्ठले जिलेस्पी जंग कार्कीको बायाँ विंगबाट आएको क्रसलाई पहिलो टचमै गोल गर्दै टिमलाई अग्रता दिलाए।

पुलिसले पहिलो हाफमै बराबरी गर्ने प्रयास गरे पनि भाग्यले साथ दिएन। ४३औं मिनेटमा संजीव लामाले पेनाल्टी क्षेत्रबाहिरबाट गरेको प्रहार क्रसबारमा लागेर बाहिरिएको थियो।
दोस्रो हाफमा ८०औं मिनेटमा आर्मीले अग्रता दोब्बर बनायो। निराजन धामीले मिडफिल्डमा खोसेको बल बक्सभित्र लगेर कटब्याक गरे, जसमा जिलेस्पीको प्रहार पुलिसका गोलरक्षक शत्रुघन चौधरीले बचाए। तर, फुस्किएको बललाई नवयुग श्रेष्ठले लो क्रस दिएका थिए, जसलाई दिनेश हेन्जनले सहजै गोलमा परिणत गरे।
यस जितसँगै आर्मीले सेमिफाइनलमा स्थान बनाएको छ, जहाँ उसले भोलि हुने संकटा र एपिएफबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।



