
काठमान्डौ। ज्ञान संस्कार इन्टरनेसनल स्कुलको आयोजना तथा नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघको समन्वयमा तेस्रो ज्ञान संस्कार अन्तरविद्यालय राष्ट्रिय स्केट प्रतियोगिता शनिबार हुने भएको छ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा विद्यालयकी प्रधानाध्यापक निलम बानिया बडूले देशभरका विभिन्न विद्यालयबाट करिब ३ सय खेलाडीको सहभागिता रहने जानकारी दिइन्। उनले स्केटिङलाई पर्यावरणमैत्री खेलका रूपमा उल्लेख गर्दै यसले शारीरिक स्वास्थ्य, अनुशासन र आत्मविश्वास विकासमा योगदान पु¥याउने बताइन्।
नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघका महासचिव सत्य थापाका अनुसार प्रतियोगितामा छात्र र छात्रातर्फ समान ६–६ गरी १२ स्पर्धा हुनेछन्। ६ वर्षमुनिदेखि १६ वर्षसम्मका विभिन्न उमेर समूहमा प्रतिस्पर्धा हुनेछ। उत्कृष्ट खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताको अवसर दिइनेछ। एकदिने प्रतियोगिता सामाखुशीस्थित ज्ञान संस्कारकै प्राङ्गणमा हुनेछ।
यसअघि माल्दिभ्समा सम्पन्न अन्तर्राष्ट्रिय स्केटिङ प्रतियोगिताका पदक विजेता तथा सहभागी खेलाडीलाई संघले सम्मान गरेको छ। कांस्य पदक विजेता प्रिशा खाँडसहित रोज बडू, जून बडू, काश्वी भट्टराई, समीरन भूषाल र जीयाना अर्याल सम्मानित भएका हुन्।



