
काठमाडौं। एसियाली बक्सिङ च्याम्पियनसिपको पुरुष यु-२२ उमेर समूहमा नेपाली मुक्केवाज अर्पिल रानाले कांस्य पदक पक्का गरेका छन्। ५० केजी तौल समूहमा उनले भुटानका किन्ले फुन्चोलाई ४-१ (स्प्लिट डिसिजन) ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका हुन्। यसैसँग उनको कम्तीमा कांस्य पदक सुनिश्चित भएको हो।
अर्पिलले यसअघि साउदी अरबका इब्राहीमलाई ५-० ले पराजित गर्दै क्वाटरफाइनलमा विजयी भएका थिए। उनले अब अगस्ट ६ मा जापानका सोदाई कोटोसँग सेमिफाइनल खेल्नेछन्। कोटोले फिलिपिन्सका प्रतिद्वन्द्वीलाई ५-० ले हराएका थिए।
यो प्रतियोगिता थाइल्यान्डको बैंककमा आयोजना भइरहेको छ। अर्पिलको यो सफलताले नेपाली बक्सिङ्ग इतिहासमा नयाँ अध्याय थप्ने आशा जगाएको छ।



