
काठमाडौं-विश्व बुदो मार्सल आर्ट्स च्याम्पियनसिपमा सहभागिता जनाउन १३ सदस्यीय नेपाली बुदोकैदो टोली बिहीबार अजरबैजानको बाकु प्रस्थान गर्दैछ। साउन ८ देखि १२ गतेसम्म बाकुमा हुने उक्त प्रतियोगितामा नेपालका तर्फबाट ५ पुरुष र २ महिला गरी कुल ७ खेलाडीले प्रतिस्पर्धा गर्ने छन्।
पुरुषतर्फ ७० केजी तौल समूहमा रोचक भट्टराई, ७५ केजीमा विनोद महर्जन, ८५ केजीमा सुदर्शन खतिवडा, ८० केजीमा सागर विष्ट र ६५ केजीमा रमेश खड्गी प्रतिस्पर्धामा उत्रने छन्। महिलातर्फ ४२ केजीमा पूजा खड्का र ५५ केजीमा बविता कार्कीले नेपालको चुनौती प्रस्तुत गर्ने छन्।
टोलीमा प्रशिक्षकका रूपमा नेपाल बुदोकैदो फुल कन्ट्याक्ट संघका अध्यक्ष वीरकृष्ण महर्जन रहेका छन् भने व्यवस्थापकमा रजिम शाही, अफिसियलका रूपमा सन्देश महर्जन र कुमारध्वज लामा तथा निर्णायकमा करुणा राउत क्षेत्री र राजीव श्रेष्ठ समावेश छन्।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, सदस्यहरू हिमालकुमार श्रेष्ठ र जगतसिंह धामीले विशेष समारोहबीच बिदाइ गरेका थिए।
नेपालको यो सहभागिता अन्तर्राष्ट्रिय स्तरमा बुदोकैदो खेलको पहिचान र उपस्थिति बढाउने अवसरका रूपमा हेरिएको छ।



