
झापा – झापा जिल्लामा डजबल खेलको व्यापक विकास र विस्तारलाई थप गति दिनका लागि झापा जिल्ला डजबल संघको तदर्थ समिति गठन गरिएको छ। नेपाल डजबल महासंघका तदर्थ समिति महासचिव अरुण तिमल्सिनाका अनुसार उक्त समिति गठनको निर्णय गत जेठ ८ गते बसेको बैठकबाट गरिएको हो।

समितिको संयोजकको जिम्मेवारी हेडम्बराज निरौलालाई दिइएको छ भने अन्य सदस्यहरूमा समीर पोखरेल, आरोग्य तिम्सिना, मोहम्मद जाहिर रहमान, रेखा देवी साफी, सन्ध्या कुमारी डंगोल, र मन माया तिम्सिना रहेका छन्।

समितिको संयोजक हेडम्बराज निरौलाले धन्यवाद ज्ञापन गर्दै झापा जिल्लाभित्र डजबल खेललाई विद्यालय स्तरदेखि नै व्यापक रूपमा विकास र विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
निरौला समाजसेवी समेत हुन् र सामाजिक संस्था ‘झापा जेसीज’का महासचिवको रूपमा सक्रिय रहेका छन्।

महासचिव तिमल्सिनाले बताएअनुसार, झापा जिल्लामा डजबल खेलप्रतिको चासो बढ्दो क्रममा रहेकाले संरचित र दीर्घकालीन योजना अनुरूप काम गर्न तदर्थ समिति आवश्यक देखिएको हो। उक्त समिति जिल्ला स्तरमा खेल संरचना विकास, प्रशिक्षण कार्यक्रम, प्रतियोगिता आयोजना र खेलाडी उत्पादनमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।



