
काठमाडौं । भारतको अरुणाचल प्रदेशस्थित गोल्डेन जुबिली रंगशालामा मंगलबार सम्पन्न साफ यु–१९ च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग ४–० को फराकिलो अन्तरले पराजित भएको छ।
पहिलो हाफमै भारतले दुई गोल गर्दै खेलमा पकड बनाएको थियो। खेलको २८ औं मिनेटमा रोहेन सिंहले पहिलो गोल गरे भने त्यसको एक मिनेटमै ओमाङ डोडुमले दोस्रो गोल थप्दै भारतलाई २–० को अग्रता दिलाए।
दोस्रो हाफमा पनि भारतको दबाब कायमै रह्यो। ७६ औं मिनेटमा रोहेनले व्यक्तिगत दोस्रो गोल गरे भने ८४ औं मिनेटमा ड्यानी मिटेले चौथो गोल थप्दै भारतको जित सुनिश्चित गरे।

यस जितसँगै भारत समूह ‘बी’ को विजेता बनेको छ। उसले यसअघि श्रीलंकालाई ८–० ले हराएको थियो र समूह चरणमा ६ अंक जोड्यो। नेपालले श्रीलंकाविरुद्ध ५–० को जित निकाल्दै समूह चरणमा ३ अंक जोड्दै उपविजेता बन्न सफल रह्यो।
अब सेमिफाइनलमा नेपालले समूह ‘ए’ को विजेता बंगलादेशसँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ भने भारतले समूह ‘ए’ को उपविजेता माल्दिभ्ससँग भिड्नेछ।
साफ यु–१९ च्याम्पियनसिपमा नेपालको प्रदर्शन मिश्रित देखिएको छ। श्रीलंकाविरुद्ध उत्कृष्ट जित हासिल गरे पनि भारतसँगको हारले नेपालको तयारीमा थप चुनौती थपिएको छ। अब नेपालले फाइनल प्रवेशका लागि बंगलादेशलाई पराजित गर्नुपर्नेछ।



