
काठमाडौं — बूढानीलकण्ठ फाइट नाइटको मुख्य आकर्षणका रूपमा आयोजित पुरुष ६० केजी मुवाँथाईं प्रतिस्पर्धामा नेपालका मिलन तामाङ विजयी भएका छन्। बूढानीलकण्ठ हात्तीगौंडा खेलकुद समितिको आयोजनामा सम्पन्न प्रतियोगितामा मिलनले थाइल्यान्डका असादा रक्मितलाई दोस्रो राउन्डमै नकआउट गर्दै उपाधि चुमे।
उक्त जितसँगै मिलनले १ लाख नेपाली रुपैयाँ पुरस्कार जिते भने उपविजेता असादाले ९ सय अमेरिकी डलर प्राप्त गरे। प्रतियोगिता काठमाडौंको गोल्फुटारमा सम्पन्न भएको हो।
अन्य स्पर्धामा पनि नेपाली खेलाडीहरूको वर्चस्व देखियो। पुरुष ५२ केजीमा नेपालका योमन मोक्तानले कुञ्जन घिमिरेलाई पराजित गरे। ५४ केजीमा पुरनजित राईले भारतका स्खेम्बोर्लाङ मार्वेनलाई हराउँदै विजेता बने। ७० केजी तौल समूहमा महेन्द्र गज्मेरले रोनिश सुब्बालाई हराए।
पुरुष ५७ केजीमा गुमन घर्ती मगरले भारतका बरेम्रोन डेनियललाई पराजित गर्दै उपाधि जिते। अर्को ६० केजी भिडन्तमा गौतम थिङले भारतका याइमा लाइलाई हराए भने ६७ केजीमा सन्तोष खत्रीले भारतकै असेम तोन्डोन्बामाथि विजयी भए।
महिला तर्फ ६० केजीमा सारिका धमलाले भारतकी जेनिस्ता निन्गोम्बमलाई तथा ५१ केजीमा सुस्मिता थापाले गीता नर्जिनारीलाई पराजित गर्दै उपाधि जिते।
नेपाल, भारत र थाइल्यान्डका गरी १८ खेलाडीले सहभागिता जनाएको प्रतियोगितामा ९ स्पर्धा सञ्चालन गरिएको थियो। प्रत्येक स्पर्धामा २ खेलाडीबीच प्रतिस्पर्धा गराइएको थियो।
विजेताहरूलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, बूढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी, खेलकुद संयोजक सुमन तामाङ, मुवाँथाईं संघका अध्यक्ष गणेशलाल कक्षपति र आयोजक समितिका अध्यक्ष निलम अधिकारीले पुरस्कार वितरण गरेका थिए।



