
काठमाडौं। इलाइट न्यूज प्रा.लि. द्वारा माल्टाका पहिलो नेपाली रेफ्री रोशनराज पन्तलाई विशेष सम्मान प्रदान गरिएको छ। नेपाली मूलका रोशनराज पन्तले माल्टाको फुटबल संघ (MFA) बाट मान्यता प्राप्त गर्दै माल्टामा पहिलो नेपाली रेफ्रीको रूपमा इतिहास रचेका छन्। उनले माल्टाका घरेलु लिगहरूमा रेफ्रीको भूमिकामा खेल सञ्चालन गर्दै आएका छन्।
हालसम्म, पन्तले माल्टामा २०० भन्दा बढी घरेलु फुटबल म्याचहरूमा रेफ्रीको भूमिका निभाइसकेका छन्, जुन नेपाली समुदायका लागि गर्वको विषय हो।

कार्यक्रममा रोशनराज पन्तले नेपाल र युरोपेली फुटबल संरचनाबीचको अन्तरबारे आफ्ना विचार राखेका छन्। “नेपालमा पुरुष नेशनल टिमको कुरा गर्दा, खेलाडी उत्पादन त भइरहेको छ, तर ती खेलाडीहरू अखिल नेपाल फुटबल संघ (ANFA) का उत्पादन होइनन्। बरु, विद्यालय,विद्यालयका प्रशिक्षक र स्थानीय फुटसल क्लबहरूबाट आएका खेलाडीहरू नै अधिकतम रूपमा राष्ट्रिय टिममा छन्।”
तर, युरोपेली युनियन वा माल्टाको सन्दर्भमा भने पन्त भन्छन्, “उता सबै खेलाडीहरू एकेडेमीबाट उत्पादन हुन्छन्। नेपालमा भने सबै कुरा कलेज र स्कुलमै भर परेको छ। नेपालमा राम्रो फुटबल एकेडेमी छैन, त्यसैले नेपाली फुटबललाई म अहिले शून्य नै भन्नेछु।”
नेपालमा फुटबलको विकासका लागि सुधार आवश्यक रहेको बताउँदै उनले थपे, “ANFA ले बाहिर जस्तै सबै डिभिजनहरू समय-समयमा क्यालेन्डरअनुसार सञ्चालन गर्नुपर्छ। यदि त्यसरी व्यवस्थित रूपमा लिगहरू सञ्चालन भएको भए, खेलाडीहरू विदेश जानुपर्ने थिएनन्। सायद म पनि नेपालमै बसेर राम्रो करियर बनाउन सक्थेँ।”

उनको यो उपलब्धिलाई सम्मान गर्दै इलाइट न्यूज का अध्यक्ष अरुण तिमल्सिना, इलाइट फुटसल का अध्यक्ष श्याम कुमार श्रेष्ठ, तथा प्रबन्ध निर्देशक रविन शाक्य द्वारा इलाइट फुटसल मा आयोजित विशेष कार्यक्रममा प्रशंसा प्रमाणपत्र प्रदान गरिएको छ। कार्यक्रममा खेलप्रेमी, प्रशिक्षक, र फुटबलसम्बद्ध व्यक्तिहरूको उपस्थिति रहेको थियो।
रोशनराज पन्तको यो सफलता नेपाली फुटबलप्रेमीहरूका लागि प्रेरणाको स्रोत बन्ने विश्वास लिइएको छ।



