
काठमाडौं, फागुन १६ – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) को आठौं महाधिवेशन आजदेखि काठमाडौंको तिलगंगास्थित होटल बेष्ट वेस्टर्न प्लसमा सुरू भएको छ। महाधिवेशनको उद्घाटन समारोहमा नेपाल सरकारका गृहमन्त्री रमेश लेखक प्रमुख अतिथि रहनुहुने छ। महाधिवेशनका संयोजक सुवास न्यौपानेका अनुसार देशभरका निजी विद्यालयका प्रतिनिधिहरू कार्यक्रममा सहभागी हुन काठमाडौं आइपुगेका छन्। उनले महाधिवेशन दुई दिनसम्म जारी रहने र यस दौरान शिक्षा क्षेत्रमा देखिएका विविध चुनौती तथा समाधानका उपायबारे व्यापक छलफल हुने जानकारी दिए।
महाधिवेशनमा निजी विद्यालयहरूको भविष्य, सरकारी नीतिहरू, कानुनी सुधार तथा विद्यालय सञ्चालनका मापदण्डबारे छलफल हुनेछ। शिक्षामा गुणस्तर वृद्धि, आधुनिक शिक्षण विधि, पाठ्यक्रम सुधार र डिजिटल शिक्षाको प्रभावकारी उपयोगबारे बहस हुने अपेक्षा गरिएको छ। विद्यालय सुरक्षा तथा प्रशासन, कानुनी समस्या, कर नीति र अन्य प्रशासनिक अवरोधहरूको समाधानमा विशेष ध्यान दिइने छ।

शिक्षक व्यवस्थापन, तलब, सुविधा र व्यावसायिक विकास तालिममा सुधारका उपायहरूबारे छलफल हुनेछ। महाधिवेशनले नेशनल प्याब्सनको नयाँ कार्यसमिति चयन गर्नेछ। शिक्षा विज्ञ, नीति निर्माताहरू, निजी विद्यालय सञ्चालकहरू, अभिभावक प्रतिनिधिहरू र सरोकारवालाहरूको व्यापक सहभागिता रहने छ।
नेशनल प्याब्सनले निजी विद्यालयहरूको हकहित संरक्षण गर्दै आएको छ। शिक्षा प्रणालीलाई थप व्यवस्थित, गुणस्तरीय र समावेशी बनाउन संघसंस्थाबीच समन्वय आवश्यक रहेको नेताहरूको धारणा छ। महाधिवेशनमा उठ्ने विषयहरूले भावी शिक्षा प्रणालीको स्वरूप निर्धारणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। नेशनल प्याब्सनको नयाँ नेतृत्वले निजी विद्यालयहरूको हित संरक्षण गर्दै देशको शिक्षा क्षेत्रमा सुधार ल्याउने विश्वास गरिएको छ।



