
एजेन्सी – चीनमा घरपालुवा जनावरहरूको हेरचाह गर्ने व्यक्तिहरुको माग तीव्र रूपमा बढेको छ। घर मालिकहरूको बाहिरी कामका कारण, पाल्तु जनावरहरूको हेरचाह गर्ने ‘पिट सिटर’हरुको आवश्यकता अहिले अत्यधिक देखिएको हो।
चीनका विभिन्न सहरहरूमा घरपालुवा जनावरहरूको स्वामित्व बढ्दै गएपछि, हेरचाह गर्ने पेशामा राम्रो रोजगारीका अवसरहरू सिर्जना भएका छन्। यी कामदारहरूलाई व्यवसायिक तालीम पनि दिइरहेको छ, जसले उनीहरूको क्षमता र कामको गुणस्तरमा सुधार ल्याएको छ।
वर्तमानमा चीनका ७० भन्दा बढी सहरहरूमा यस्तो सेवा केन्द्रहरू सञ्चालनमा रहेका छन्, र देशभरमा प्रमाणित घरपालुवा जनावरहरूको संख्या ४,५०० भन्दा बढी पुगेको छ।
चाइना पाल्तु उद्योगको श्वेतपत्र अनुसार, शहरी कुकुर र बिरालो उपभोक्ता बजार २०२३ को तुलनामा २०२४ मा ७.५ प्रतिशतले वृद्धि भएको छ, जसले घरपालुवा जनावरहरूको हेरचाह गर्नका लागि पेशेवर कामदारहरूको आवश्यकता अझ बढी बनाएको छ।
यसले चीनमा नयाँ रोजगारीका अवसरहरूको सिर्जना गरेको छ र घरपालुवा जनावरहरूको हेरचाहको उद्योगलाई थप सशक्त बनाएको छ। (सीसीटीभीप्लस)



