
वानखेडे, मुम्बई- मुम्बईस्थित वानखेडे स्टेडियममा जारी आईसीसी पुरुष टी–२० विश्वकपअन्तर्गत नेपाल र वेस्ट इन्डिजबीचको खेलमा नेपालले वेस्ट इन्डिजलाई १३४ रनको लक्ष्य दिएको छ।
टस जितेर पहिले फिल्डिङ रोजेको वेस्ट इन्डिजले सुरुवातदेखि नै नेपाललाई दबाबमा राखेको थियो।
ओपनर कुशल भुर्तेल पहिलो ओभरमै बोल्ड हुँदै १ रनमा आउट भएपछि नेपालको इनिङ्स कमजोर बनेको थियो। त्यसपछि कप्तान रोहित पौडेल ७ बलमा ५ रन, आसिफ शेख १० बलमा ११ रन र आरिफ शेख ८ बलमा २ रनमै आउट भए। लोकेश बामले १५ बलमा १३ रन जोडे।
मध्यक्रममा दिपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गर्दै ४७ बलमा ५८ रनको महत्वपूर्ण अर्धशतक प्रहार गरे र टोलीलाई सम्मानजनक स्कोरतर्फ अघि बढाए। गुलशन झाले १४ बलमा ११ रन बनाए भने सोमपाल कामी १५ बलमा २६ रनमा अविजित रहे। करण केसीले २ बलमा १ रन जोडे। वेस्ट इन्डिजका जेसन होल्दर ले सर्वाधिक ४ विकेट लिए भने मत्त्वु फोर्दे, अकाल होसेंन, शमार जोसेफ र रोस्टन चेस ले समान १/१ विकेट लिए। |
अब १३४ रनको लक्ष्य पछ्याउने क्रममा वेस्ट इन्डिजविरुद्ध नेपालका बलरहरूले कडा प्रदर्शन गर्नुपर्ने देखिएको छ।



