
काठमाडौं। अन्तर्राष्ट्रिय स्तरमा पदक जितेर नेपालको नाम उज्यालो बनाएकी उमा कुङफु खेलाडी सरिना घलेलाई घले समाज युकेले नगदसहित सम्मान गरेको छ।
युकेमा आयोजित कार्यक्रममा ल्होछारको अवसर पारेर सरिनालाई ४ सय पाउन्ड नगद र प्रशंसा पत्र प्रदान गरिएको हो। उनलाई गोर्खा अभियन्ता पुष्पा राणा घले र घले समाज युकेका अध्यक्ष रिटायर्ड मेजर विष्णुबहादुर घलेले सम्मान गरेका हुन्।
नेपाल उमा कुङफु संघका अध्यक्ष संजीतकुमार राईका अनुसार अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेर देशको गौरव बढाएको योगदानको कदर गर्दै सरिनालाई सम्मान गरिएको हो।
सरिनाले युकेमा आयोजित दुई ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता डब्लुएमएसी ब्रिटिस ओपन च्याम्पियनसिप र डब्लुएमएसी इङ्लिस च्याम्पियनसिप मा स्वर्ण पदक जितेकी थिइन्।
यसअघि पनि उनको सफलताको सम्मान गर्दै तमु धीं समाज युके, मगर एसोसिएसन युके, धादिङ नुवाकोट समाज युके र एनआरएनए युकेले सम्मान गरिसकेका छन्।
नुवाकोटको किस्पाङ गाउँपालिका वार्ड नम्बर १ की सरिना तेस्रो डान खेलाडी हुन् र हाल युकेमै मास्टर्स अध्ययन गर्दै खेल क्षेत्रमा निरन्तर सक्रिय छिन्।



