
काठमाडौं।
फ्ल्यास स्पोर्ट्स राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताको अन्तिम दिन सोमबार सोनाम छिरिङ घले, सारा पन्त र विश्वविशेष डल्लाकोटीले स्वर्ण जितेका छन्। सोनामले यु–१० ब्वाइज सिंगल्स, साराले यु–१२ गल्र्स सिंगल्स र विश्वले यु–१४ ब्वाइज सिंगल्समा उपाधि हात पारे।
बूढानीलकण्ठ नगरपालिका, च्यासिन्डोलस्थित फ्ल्यास स्पोर्ट्स टेनिस एकेडेमीमा भएको यु–१० ब्वाइज फाइनलमा सोनामले एस्टन श्रेष्ठलाई ६–४, ६–४ ले पराजित गरे। यु–१२ गल्र्स फाइनलमा साराले आर्या पौडेललाई ६–१, ६–० ले हराइन्।
विश्वले यु–१४ ब्वाइज सिंगल्स फाइनलमा अर्याशराज पौडेलको रिटायरमेन्टपछि उपाधि जिते। पहिलो सेट विश्वले ६–३ ले जिते, दोस्रो सेट अर्याशले ६–१ ले जितेको थिए, तेश्रो सेट १–० अग्रता रहेको बेला अर्याश रिटायर भए। यु–१६ ब्वाइज सिंगल्समा साङ्गे रोकायाले वाकओभर पाउँदै विजेता बने।
प्रतियोगितामा १ डबल्ससहित १५ स्पर्धा सञ्चालन भएको थियो। अन्य विजेतामा स्वस्तिका विष्ट (यु–१६, यु–१८ गल्र्स), सर्वज्ञजंग खत्री (यु–८ ब्वाइज), भानी राजभण्डारी (यु–८ गल्र्स), आयुशमान हजुर घले (यु–१८ ब्वाइज), टोनिस श्रेष्ठ (यु–९ ब्वाइज), निम्ति कुँवर (यु–१० गल्र्स), आरित मल्ल (यु–१२ ब्वाइज), दर्सिल श्रेष्ठ र असभसम्राट हाडा (ब्वाइज डबल्स) रहेका छन्।
विजेतालाई नेपाल टेनिस संघका अध्यक्ष मनोहरदास मुल, प्रतियोगिता संयोजक कृष्णराज घले र टेनिसका नेपाल नम्बर एक प्रदीप खड्काले पुरस्कार प्रदान गरे। पहिलो संस्करणको पाँचदिने प्रतियोगितामा १४७ खेलाडीले प्रतिस्पर्धा गरेका थिए।




