
काठमाडौं।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न २४ औं राष्ट्रिय पुरुष खुला तथा १८ औं राष्ट्रिय महिला तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगितामा नेपाल आर्मीका सनीसिंह सुनार, एपीएफकी अनिशा तामाङ र नेपाल आर्मीकी सपना ऐडी च्याम्पियन बनेका छन् ।
पुरुष खुला तौलसमूह फाइनलमा सनीले आर्मीकै प्रवीण माझीलाई पराजित गर्दै उपाधि जिते । आर्मीका भूपेन्द्र ओली तेस्रो र विष्णु थापा मगर चौथो भए ।
महिला ५५ केजीमुनि तौलसमूहको फाइनलमा अनिशाले आर्मीकी विन्दु चौधरीलाई हराउँदै पहिलो स्थान हात पारिन् । केडब्लुडब्लुकी सुप्रिया गुरुङ तेस्रो र एपीएफकी निशा सुनुवार चौथो भइन् ।
नेपाल क्योकुसिन कराते डो संघ वज्रद्वारा आयोजित प्रतियोगिताको महिला ५५ केजीमाथि तौलसमूह फाइनलमा सपनाले एपीएफकी सुमित्रा नगरकोटीलाई पराजित गरिन् । केडब्लुडब्लुकी रसिला श्रेष्ठ तेस्रो र आर्मीकी अप्सरा कुमाल चौथो भइन् ।
छैटौं वज्र फाइट अन्तर्गत पुरुष ६२ केजीमुनि किलर फाइट क्लबका सुमन याखा राई च्याम्पियन बने । उनले फाइनलमा आर्मीका जनकबहादुर धामीलाई पराजित गरे । पुरुष ५५ केजीमुनि केडब्लुडब्लुका मोहम्मद सन्उला अन्सारीले आईकेएका सन्देश तामाङलाई पराजित गर्दै उपाधि जिते ।
महिला ४६ केजीमुनि तौलसमूहमा आर्मीकी मनीता राई पहिलो भइन् । उनले फाइनलमा केडब्लुडब्लुकी सिवानी आले मगरलाई हराइन् ।
सातै प्रदेशसहित नेपाल आर्मी र एपीएफका करिब १ सय खेलाडी सहभागी प्रतियोगितामा राष्ट्रिय फुल कन्ट्याक्ट र वज्र फाइटतर्फ समान ३–३ स्पर्धा सञ्चालन भएका थिए । सबै स्पर्धाका पदक विजेताले नगद पुरस्कार प्राप्त गरे ।



