
ललितपुर ।
वडा ८ ले सातौं मेयर कप ललितपुर महानगरपालिका अन्तरवडा टेबलटेनिस प्रतियोगिताको लेडिज टिम इभेन्टमा स्वर्ण पदक जितेको छ।
ललितपुर महानगरपालिका वडा नं. ६ को आयोजनामा कनिबहालमा भइरहेको प्रतियोगिताको फाइनलमा वडा ८ की सुरम्य शाक्य र सम्पदा श्रेष्ठले वडा १७ की अर्पिता र अर्सना महर्जनलाई ३–२ ले पराजित गर्दै उपाधि जिते।

पहिलो सिंगल्समा सुरम्यले अर्पितालाई ११–५, ११–७, ७–११ र ११–४ ले हराइन्। दोस्रो सिंगल्समा अर्सनाले सम्पदालाई ९–११, ११–४, १२–१० र ११–५ ले पराजित गरिन्। डबल्समा सुरम्य र सम्पदाले अर्पिता–अर्सनाको जोडीलाई ३–२ ले हराउँदै वडा ८ लाई अग्रता दिलाए। तेस्रो सिंगल्समा अर्सनाले सुरम्यलाई पराजित गरेपछि खेल २–२ को बराबरीमा पुगेको थियो। निर्णायक खेलमा सम्पदाले अर्पितालाई पराजित गर्दै वडा ८ लाई स्वर्ण दिलाइन्। वडा १९ र वडा १६ संयुक्त तेस्रो भए।

पुरुष टिम इभेन्टमा वडा ७ ले पहिलो स्थान हासिल गर्यो। टोलीमा एलेक्स महर्जन, डिकेन महर्जन, एलेन महर्जन, निकेश जोशी र मिजेन शाक्य रहेका छन्।प्रतियोगिताको उद्घाटन अवसरमा माल्दिभ्समा सम्पन्न प्रथम थोडु मास्टर्स अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताका नेपाली पदक विजेतालाई ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले सम्मान गरेका थिए।



