
काठमाडौं— सायम कलेजको आयोजनामा ‘हाइसेन्स नेपाल प्रथम सायम अन्तरकलेज सेभेन ए साइड फुटसल प्रतियोगिता’ यही असार ११ गतेदेखि सुरु हुने भएको छ। बिहीबार आयोजित पत्रकार सम्मेलनमा सायम कलेजका प्रिन्सिपल अशोकराज पाण्डेले प्रतियोगितामा २४ देखि ३२ वटा छात्र टिमको सहभागिता रहने अपेक्षा गरिएको जानकारी दिए।
स्नातक तहका सेमेस्टर प्रणाली अन्तर्गतका कलेज टिमले मात्र प्रतियोगितामा भाग लिन पाउने छन्। प्रतियोगिताको मुख्य प्रायोजक एसी उपकरणको प्रमुख विक्रेता हाइसेन्स नेपाल रहेको छ।
भक्तपुरको दिव्येश्वरी प्लानिङस्थित रोयल नेपाल फुटसलमा सञ्चालन हुने प्रतियोगिता लिग कम नकआउट आधारमा खेलाइनेछ। तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिताका लागि करिब ५ लाख ५० हजार रुपैयाँ खर्च हुने सायम कलेजका भाइस प्रिन्सिपल विशाल श्रेष्ठले जानकारी दिए।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टिम तथा खेलाडीलाई नगदसहित विभिन्न पुरस्कार प्रदान गरिनेछ। प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने टिमले क्रमशः ९० हजार, ४० हजार र २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।
त्यस्तै, उत्कृष्ट खेलाडीलाई ५ हजार रुपैयाँ, उत्कृष्ट डिफेन्डर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई जनही ३–३ हजार रुपैयाँसहित गिफ्ट भौचर प्रदान गरिनेछ। उत्कृष्ट प्रशिक्षकलाई ट्रफी र गिफ्ट भौचर प्रदान गरिनेछ।
सायम कलेजले यसअघि सायम प्रिमियर लिग इन्ट्रा कलेज क्रिकेटको पाँचौं संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको छ। प्रतियोगिता संयोजक दशरथ शाहीले पहिलोपटक फुटसल आयोजना गर्न लागिएको जानकारी दिँदै आगामी दिनमा महिला फुटसल प्रतियोगिता पनि आयोजना गर्ने योजना रहेको बताए।



