
काठमाडौं— गैरआवासीय नेपाली सुवर्ण कार्कीले चौथो विश्व क्योकुसिन तेजुका कराते च्याम्पियनसिपमा ऐतिहासिक सफलता हासिल गर्ने दावा शेर्पालाई नगदसहित सम्मान गरेका छन्।
गत फेब्रुअरी २४ मा जापानको फुकुओकामा सम्पन्न प्रतियोगितामा दावा शेर्पाले पुरुष एकल काता विधामा रजत पदक जितेका थिए। यही उपलब्धिको कदरस्वरुप कार्कीले शेर्पालाई एक कार्यक्रमका बीच व्यक्तिगत तर्फबाट ५० हजार रुपैयाँको नगद पुरस्कार प्रदान गरेका हुन्।
सम्मान हस्तान्तरण समारोहमा बोल्दै कार्कीले भने, “विश्व च्याम्पियनसिपमा पदक जित्नु चानचुने कुरा होइन। यो ऐतिहासिक सफलता तपाईंको निरन्तर प्रयास र समर्पणको परिणाम हो। तपाईंकै प्रेरणाले अरु नेपाली खेलाडीहरूलाई पनि अन्तर्राष्ट्रिय स्तरमा चम्किन हौसला मिल्नेछ।”
उक्त समारोहमा नेपाल क्योकुसिन कराते (इको) संघका अध्यक्ष दमन बस्नेत पनि उपस्थित थिए। उनले शेर्पाको जितलाई नेपाली फुल कन्ट्याक्ट करातेको इतिहासमै अहिलेसम्मकै ठूलो सफलता भएको बताएका छन्।
अध्यक्ष बस्नेत स्वयंले पनि सोही प्रतियोगिता अवधिमा सम्पन्न अन्तर्राष्ट्रिय डान ग्रेडिङ टेस्टमा सफलता प्राप्त गर्दै पाँचौं डान उपाधि हासिल गरेका थिए। यस उपलब्धिप्रति कार्कीले उनलाई विशेष बधाई दिएका थिए।
यसअघि पनि दावा शेर्पालाई नेपाल क्योकुसिन कराते (इको) संघले चैत २८ गते २५ हजार रुपैयाँसहित सम्मान गरिसकेको छ।



