
पोखरा, २३ चैत २०८१ — पोखरामा आजदेखि सुरु भएको दोस्रो संस्करणको केपी ओली कप टी-२० राष्ट्रिय खुल्ला पुरुष क्रिकेट प्रतियोगिताले खेलकुद र पर्यटनको महत्वलाई एकसाथ जोड्ने अवसर प्रस्तुत गरेको छ। नेपाल सरकारका प्रवक्ता र सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्दै पोखरा र गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धनका लागि खेलकुदको भूमिका महत्त्वपूर्ण रहेको बताए।

मन्त्री गुरुङले पोखरालाई खेलकुदको हब बनाउने र यस क्षेत्रको क्रिकेट पूर्वाधारको स्तरवृद्धि गर्ने उद्देश्यले सरकार बजेट विनियोजन गर्ने जनाए। उनले भने, “पोखरालाई पर्यटनको राजधानीका रूपमा अघि बढाउनका लागि खेलकुदको माध्यमबाट महत्वपूर्ण योगदान गर्न सकिन्छ।”

यस प्रतियोगितामा १६ टिमले सहभागिता जनाएका छन्, र यसलाई मदन भण्डारी स्पोर्टस् एकेडेमीले आयोजना गरेको हो। प्रतियोगिता आगामी वैशाख ५ गतेसम्म चल्नेछ। विजेताले नगद १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्। साथै, म्यान अफ दी सिरिज, बेष्ट बलर, बेष्ट ब्याटर र म्यान अफ दी म्याचलाई पनि नगद पुरस्कार र ट्रफी दिइनेछ।

प्रतियोगिता लिग कम नकआउट प्रणालीमा खेलाइने छ। प्रतियोगिताले पोखरामा क्रिकेटको विकास र युवा खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्दै प्रतियोगिता संयोजक ध्रुब आचार्यले खेलकुदका माध्यमबाट पर्यटन प्रवर्द्धनमा पनि सहयोग पुर्याउने बताएका छन्।

यस प्रतियोगिताको पहिलो संस्करणको उपाधि मधेश प्रदेशले जितेको थियो।





