
२३ चैत्र २०८१ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ अन्तर्गत बिहीबार भएको खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई ८० रनको ठूलो अन्तरले पराजित गर्दै सानदार पुनरागमन गरेको छ। पछिल्लो खेलमा मुम्बई इन्डियन्ससँग कमजोर प्रदर्शन गरेको कोलकाताले हैदरावादविरुद्ध सशक्त ब्याटिङ र बलिङ प्रदर्शन गर्दै तेस्रो जित दर्ता गराएको हो।
कोलकाताले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २०० रन बनायो। उपकप्तान वेंकटेश अय्यरले २९ बलमा विस्फोटक ६० रन बनाए भने रिंकु सिंहले १७ बलमा अविजित ३२ रनको योगदान दिए। अन्तिम पाँच ओभरमा कोलकाताले ७८ रन जोड्दै पारीलाई उचाइमा पुर्यायो।
त्यसअघि कप्तान अजिंक्य रहाणे (३८) र अङ्कृष रघुवंशी (५०) ले तेस्रो विकेटका लागि ८१ रनको महत्वपूर्ण साझेदारी गर्दै पारीको आधार तयार गरेका थिए।
जवाफमा हैदरावादको पारी सुरुदेखि नै दबाबमा रह्यो। उत्कृष्ट बलिङसामु हैदरावाद १६ ओभरमै १२० रनमा अलआउट भयो। यो हारसाथ हैदरावादले आईपीएल २०२५ मा लगातार तेस्रो पराजय व्यहोरेको छ, जसले टोलीको सुरुवात उत्साहजनक रहन नसकेको संकेत गर्छ।



