
काठमाडौं – नेपाली महिला क्रिकेट टोलीलाई युगाण्डामा हुने चारदेशीय टी–२० अन्तर्राष्ट्रिय (टी–२०आई) शृंखलाका लागि बुधबार बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले मुलपानीस्थित आफ्नो कार्यालयमा विशेष कार्यक्रम आयोजना गरी टोलीलाई बिदाइ गरेको हो। फागुन २४ देखि सुरु हुने प्रतियोगितामा नेपालसहित युगाण्डा, हङकङ, र नामिबिया सहभागी छन्।
बिदाइ समारोहमा क्यानका सचिव पारस खड्काले नेपाली टोलीलाई शुभकामना दिँदै नयाँ वातावरणमा खेल्नु महत्वपूर्ण अनुभव हुने बताएका छन्। उनले महिला क्रिकेटप्रति चासो बढ्दै गएको उल्लेख गर्दै अब जित–हारको मुल्यांकनसमेत गहिरो रूपमा गर्न थालिएको बताएका छन्। उनले भने, “हामी नयाँ ठाउँमा क्रिकेट खेल्न गइरहेका छौं। खेलाडिहरूले जति धेरै नयाँ स्थानमा खेल्छन्, उति धेरै अनुभव हासिल गर्न सक्छन्। महिला क्रिकेटमा चासो पहिलेभन्दा बढेको छ, र अब जित–हारलाई गम्भीर रूपमा लिइन्छ। हामी तपाईंहरूमा विश्वास गर्छौं र उत्कृष्ट प्रदर्शनको अपेक्षा गरेका छौं।”

टोली कप्तान इन्दु बर्माले टोलीले विशेष रूपमा फिल्डिङ र फिटनेसमा काम गरेको बताएकी छन्। उनले भनिन्, “हामीले राम्रो तयारी गरेका छौं। यसपटक उत्कृष्ट क्रिकेट खेल्दै स्वदेश फर्कने लक्ष्य छ।”
नेपालले पहिलो खेल फागुन २४ मा नामिबियाविरुद्ध खेल्नेछ। त्यसपछि फागुन २५ मा युगाण्डासँग, फागुन २६ मा हङकङसँग, फागुन २८ मा नामिबियासँग दोस्रो खेल, फागुन २९ मा युगाण्डासँग दोस्रो खेल, र फागुन ३० मा हङकङसँग दोस्रो खेल खेल्नेछ। नेपाली टोलीले युगाण्डामा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेको छ।



