
काठमाडौं – हिमालयन चेस एकेडेमीले आयोजित ‘हिमालयन डुओ’ र्यापिड चेस प्रतियोगितामा नाइटमेर कजिन्सका सुजन काफ्ले र सविन खतिवडाले उपाधि जितेका छन्। उनीहरूले पाँच राउन्डमा शतप्रतिशत जितसहित १० अंक जोडेर पहिलो स्थान हासिल गरे।
यद्यपि यो व्यक्तिगत खेल हो, चेसमा सामूहिक भावना बलियो बनाउनका लागि आयोजना गरिएको यस एक दिने प्रतियोगितामा दोस्रो स्थान गोथम नाइट्सको प्रवीर केसी र अनमोल राईको टिमले जिते, जसले ७ अंक जोडेका थिए। यस प्रतियोगितामा प्रत्येक खेलमा २ अंक र बराबरीमा १ अंक प्राप्त गर्न सकिन्थ्यो।
स्वीस प्रणालीअनुसार ५ राउन्डमा सम्पन्न प्रतियोगितामा समय सीमा १० मिनेट र १० सेकेन्ड इन्क्रिमेन्ट राखिएको थियो। नाइट्स ग्याम्बिट टिमले ६ अंकसहित तेस्रो स्थान हासिल गरेको छ। यसमा लियोन महर्जन र शुभ तुलस्यानले समान ३ खेल जितेका थिए। सिद्धार्थ जेसी श्रेष्ठ र युग युसी श्रेष्ठको टिम ‘फायर एन्ड आइस’लाई बेस्ट नेम अवार्ड दिइएको थियो।
उपाधि विजेता नाइटमेर कजिन्सलाई ५ हजार रुपियाँ, उपविजेता गोथम नाइट्सलाई ३ हजार रुपियाँ र तेस्रो स्थान प्राप्त नाइट्स ग्याम्बिटलाई २ हजार रुपियाँ ट्रफी र मेडलसहित प्रदान गरिएको छ।
हिमालयन चेस एकेडेमीले यसअघि एसईई कप, हिमालयन १०० फर गिनिज वल्र्ड रेकर्ड्स, हिमालयन तीज चेस टोर्नी र प्यट्रिओटिक पन च्याम्पियनसिपजस्ता प्रतियोगिताहरू सफलतापूर्वक आयोजना गरेको छ। एकेडेमीले १ सय भन्दा बढी व्यक्तिलाई नियमित चेस ट्रेनिङ दिँदै, विद्यालय र समुदायमा कार्यशाला र प्रशिक्षण सञ्चालन गर्दै आएको छ।



