
काठमाडौं – लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा जारी सातौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगितामा भारतीय खेलाडी श्रोवन पाउल र प्राची घोषले यु-१६ सिंगल्स तर्फ स्वर्ण पदक जितेका छन्।
ब्वाइज यु-१६ फाइनलमा टिस्टा तोर्सा टेबलटेनिस क्लबका श्रोवन पाउलले रोमाञ्चक पुनरागमन गर्दै एभीएम टेबलटेनिस क्लबका प्रजिल भट्टराईलाई ३–२ को सेटमा पराजित गरे। २–० ले पछि परेका श्रोवनले उत्कृष्ट खेल प्रदर्शन गर्दै ६–११, १२–१४, ११–८, ११–८, ११–८ को जित निकाले। ट्यालेन्ट स्काउट टेबलटेनिस हबका श्रीराज वर्दान र यलका अर्नव श्रेष्ठ तेश्रो स्थानमा रहे।
गल्र्स यु-१६ फाइनलमा दार्जिलिङ टेबलटेनिस एसोसिएसनकी प्राची घोषले ग्लोबल टेबलटेनिस एकेडेमीकी सचारी चक्रबर्तीलाई ११–१, ११–९, ११–४ को सहज जित निकाल्दै स्वर्ण पदक जितिन्। नेपाल प्रहरीकी शुभश्री श्रेष्ठ र टिस्टा तोर्साकी श्रुति दास तेश्रो स्थानमा रहे।यु-१६ विधामा शीर्ष तीन स्थान हासिल गर्ने खेलाडीहरूले क्रमशः २० हजार, १० हजार, र ५–५ हजार नगद पुरस्कार प्राप्त गरेका छन्।

ललितपुर टेबलटेनिस क्लबको आयोजनामा जारी प्रतियोगितामा हालसम्म ४ स्वर्णको टुंगो लागेको छ। यसअघि टिम इभेन्टतर्फ पुरुषमा ललितपुर टेबलटेनिस क्लब र महिलामा ग्लोबल टेबलटेनिस एकेडेमीले स्वर्ण जितेका थिए।
प्रतियोगितामा कुल ९ स्पर्धा समावेश छन्, जसअन्तर्गत मुख्य स्पर्धा पुरुष तथा महिला सिंगल्सतर्फ लिग चरणका खेलहरू भइरहेका छन्। पुरुषतर्फ तेस्रो चरण र महिलातर्फ पहिलो चरणका खेलहरू सम्पन्न भइसकेका छन्।



