
काठमाडौं । पुष्पलाल मेमोरियल सेकेन्डरी स्कुलले शिक्षासँगै खेलकुदलाई उच्च प्राथमिकता दिँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी, प्रशिक्षक, र खेल पदाधिकारीहरूलाई विद्यालयमा आमन्त्रण गर्ने महत्वपूर्ण पहल गरेको छ।
विद्यालयमा आयोजित विशेष खेल प्रशिक्षण कार्यक्रममा SAFF महिला भलिबल खेलाडी सीता सेन, Under-19 क्रिकेटका पूर्व राष्ट्रिय खेलाडी तथा वर्तमान निजी प्रशिक्षक अभिषेक बस्नेत, खेल पदाधिकारी अन्तरीक्ष अधिकारी र अरूण तिमिल्सिना उपस्थित भई विद्यार्थीहरूलाई भलिबल, क्रिकेट लगायत विभिन्न खेलका नियम तथा प्रविधिबारे प्रशिक्षण दिएका थिए।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल नारायणबाबु तिम्सिना, भाइस प्रिन्सिपल राजु पुडासैनी, कोअर्डिनेटर नारायण वाग्ले, तथा राजेन्द्र नेपाली को समेत उपस्थिति रहेको थियो।
विद्यालयले निकट भविष्यमा विभिन्न अन्तरविद्यालयीय प्रतियोगिता आयोजना गर्दै विद्यार्थीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्ने योजना बनाएको छ। यसअघि नै विद्यालयले रग्बी खेललाई पाठ्यक्रममा समावेश गरिसकेको छ भने कक्षा ९ का विद्यार्थी रोहित गुरुङ बागमती प्रदेश स्तरीय रग्बी प्रतियोगितामा सहभागी भइसकेका छन्।
पुष्पलाल मेमोरियल सेकेन्डरी स्कुल गुणस्तरीय शिक्षासँगै उत्कृष्ट खेलकुद गतिविधिहरू सञ्चालन गर्दै आएको छ। विद्यार्थीहरूलाई शैक्षिक तथा खेलकुद दुवै क्षेत्रमा अब्बल बनाउन विद्यालयले विशेष पहल गरिरहेको छ, जसले यसलाई शिक्षा र खेलकुदको उत्तम संयोजन गर्ने उदाहरणीय संस्थाका रूपमा स्थापित गरिरहेको छ।



