
पोखरा। तनहुँको म्याग्दे गाउँपालिकाले आगामी फागुन १३ गतेदेखि दोस्रो अध्यक्ष कप २०८१ आयोजना गर्ने भएको छ। बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा गाउँपालिकाले प्रतियोगिताको विस्तृत जानकारी गराएको हो।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित आयोजना हुन लागेको अध्यक्ष कप अन्तर्गत गण्डकी प्रदेशभित्रका पालिकास्तरीय ११ ‘ए’ साइड पुरुष फुटबल, तनहुँ जिल्लास्तरीय ‘सी’ लेभल ब्याडमिन्टन तथा म्याग्दे गाउँपालिका वडास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता समावेश छन्।

गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठका अनुसार नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको पालिकास्तरीय फुटबल प्रतियोगिता म्याग्दे–५ छाङ्ग पाटन खेलमैदानमा हुनेछ। प्रतियोगिताका विजेताले ३ लाख तथा उपविजेताले १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। साथै, सेमिफाइनल पुग्ने दुई टिमलाई जनही १५ हजार रुपैयाँ दिइनेछ। उत्कृष्ट खेलाडीलाई १० हजार तथा सर्वाधिक गोलकर्ता, उत्कृष्ट मिडफिल्डर, डिफेन्डर, गोलरक्षक र प्रशिक्षकलाई जनही ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।
यसैगरी, म्याग्दे गाउँपालिका–४ थर्पु ब्याडमिन्टन क्लबको कवर्ड हलमा फागुन १६ र १७ गते हुने जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार तथा दोस्रो हुनेलाई ३० हजार रुपैयाँ पुरस्कार दिइनेछ। सेमिफाइनलसम्म पुग्ने दुई खेलाडीलाई जनही १० हजार रुपैयाँका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।

म्याग्दे गाउँपालिका वडास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगितामा विजेताले ८० हजार र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। यस प्रतियोगितामा गाउँपालिकाका ७ वडाका खेलाडीहरूले सहभागिता जनाउनेछन्। पुरुष तथा महिला भलिबलमा उत्कृष्ट खेलाडी, उत्कृष्ट ब्लकर, उत्कृष्ट स्पाइकर, उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट लिबरो र उत्कृष्ट प्रशिक्षकलाई पालिकाको लोगो अंकित पोशाक प्रदान गरिने आयोजकले जनाएको छ।
तीनवटै विधाका प्रतियोगिता फागुन २२ गतेसम्म सम्पन्न गरिनेछ भने फागुन २३ गते पुरस्कार वितरण कार्यक्रम आयोजना गरिनेछ। प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न गाउँपालिकाले २० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। प्रतियोगिताले स्थानीय तथा राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्न मद्दत गर्ने विश्वास प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले व्यक्त गरे।



