
धरान – २५ औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार न्युरोड टिम (एनआरटी) र चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौंबीच रोमाञ्चक प्रतिस्पर्धा हुने भएको छ।
एनआरटीले तेस्रो पटक उपाधि जित्ने अवसर पाएको छ भने चर्च ब्वाइज पहिलो पटक बुढासुब्बा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। एनआरटीले काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसी) झापा र पाहुना टोली युकेएफसी भारतलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको हो। उता चर्च ब्वाइजले नेपाल पुलिस क्लब र पाहुना टोली भुटानलाई हराउँदै उपाधि नजिक पुगेको छ।
यस सिजनमा यी दुई क्लबले विभिन्न चार प्रतियोगितामा प्रतिस्पर्धा गरेका छन्, जसमध्ये तीनवटा प्रतियोगिताको फाइनलमा सँगै भिडेका थिए। एनआरटीका टिम कोच श्याम मालीका अनुसार, अघिल्ला फाइनल अनुभवले बुढासुब्बा गोल्डकपमा फाइदा पुग्नेछ। त्यस्तै, चर्च ब्वाइजका टिम कोच सुमन श्रेष्ठले एनआरटीलाई कडा प्रतिस्पर्धी मान्दै आफ्नो टिम उच्च मनोबलका साथ मैदानमा उत्रिने बताएका छन्।
धरान रंगशालामा हुने फाइनल खेलको विजेताले १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ। फुटबल प्रेमीहरूका लागि रोमाञ्चक खेलको अपेक्षा गरिएको छ।



