
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले खेलकुदको क्षेत्र र सम्बन्धित सामाग्रीहरूको प्रर्दशनीको आयोजनाका लागि विभिन्न प्रतिष्ठित संस्थासँग सहकार्यको सम्झौता गरेको छ। चेम्बर अफ कमर्सको शिक्षा एवं खेलकुद समितिले नेपाल खेलकुद पत्रकार मञ्च, माईस इन्टरनेशनल सर्भिस प्रालि, नेपाल स्पोर्टस एण्ड फिटनेश इन्फ्रास्ट्रक्चर र नेपाल स्पोर्ट्स एशोसिएसनसँग सहकार्यको सम्झौतामा हस्ताक्षर गरेको हो।
सम्झौताअनुसार, आगामी नेपाल स्पोर्ट्स कन्क्लेभ २०२५, दोस्रो नेपाल स्पोर्ट्स एण्ड फिटनेस एक्सपो २०२५ र पाँचौं स्पोर्ट्स च्याम्पियनशिप एण्ड एक्सपो जस्ता महत्त्वपूर्ण खेलकुद आयोजनामा सहकार्य गरिनेछ। यी आयोजनाहरूको उद्देश्य नेपालमा खेलकुदको विकास र अवसर सिर्जना गर्नु रहेको छ।

सम्झौतामा नेपाल चेम्बर अफ कमर्सको शिक्षा एवं खेलकुद समितिका सभापति रुपक राजवंशी, नेपाल स्पोर्टस एण्ड फिटनेस इन्फ्रास्ट्रक्चरका अध्यक्ष सुरज डंगोल, नेपाल खेलकुद पत्रकार मञ्चका केन्द्रीय सदस्य निरन्जन राजवंशी र माईस इन्टरनेशनलका निर्देशक दिपक थापाले हस्ताक्षर गरेका छन्। चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवाल र वरिष्ठ उपाध्यक्ष दिपक मल्होत्रा पनि सो कार्यक्रममा उपस्थित थिए।
यस सहकार्यले नेपालको खेलकुद क्षेत्रको दिगो विकासमा ठूलो योगदान पुर्याउने अपेक्षा गरिएको छ। साथै, चेम्बर अफ कमर्ससँगको साझेदारीले आगामी तीन वर्षसम्म रणनीतिक कार्यान्वयन गर्दै खेलकुद क्षेत्रको समग्र सुधार र विकासमा महत्त्वपूर्ण उपलब्धी हासिल गर्न मद्दत पुर्याउनेछ।

दोस्रो नेपाल स्पोर्ट्स कन्क्लेभमा समूहगत छलफल र कार्यपत्र प्रस्तुती, दोस्रो नेपाल फिटनेस एक्सपोमा खेलकुद र फिटनेस उद्योगसँग सम्बन्धित नवीनतम प्रविधिहरूको प्रर्दशनी र पाँचौं स्पोर्ट्स च्याम्पियनशिपका आयोजनामा चेम्बर अफ कमर्सको महत्त्वपूर्ण भूमिका रहनेछ।
नेपालको खेलक्षेत्र र अर्थतन्त्रमा यो सहकार्यको दीर्घकालिक प्रभाव पर्ने विश्वास गरिएको छ।



