काठमाडौं। फिफाले फिफा क्लियरिङ हाउसको पहिलो प्रतिवेदन प्रकाशित गरेको छ, जसले प्रणालीको पहिलो २४ महिनामा आएको परिवर्तनकारी प्रभावलाई उजागर गरेको छ। यो प्रणाली २०२२ नोभेम्बरमा सुरू भएयता ५,००० भन्दा बढी प्रशिक्षण क्लबहरूलाई ३५० मिलियन अमेरिकी डलरभन्दा बढी रकम विनियोजन गरिएको छ। तीमध्ये १५६.६ मिलियन डलर पहिले नै वितरण भइसकेको छ।

यो प्रणालीले पारदर्शिता र वित्तीय निष्ठा सुनिश्चित गर्दै प्रशिक्षण क्लबहरूलाई उचित आर्थिक पुरस्कार प्रदान गरेको छ। फिफाका प्रमुख कानूनी तथा अनुपालन अधिकारी एमिलियो गार्सिया सिल्भेरोका अनुसार यो प्रणालीले प्रशिक्षण र खेलाडी विकासमा योगदान गर्ने क्लबहरूलाई प्रतिफल प्रदान गरेको छ।
२०२४ मा वितरण गरिएको रकम प्रणाली लागू हुनु अघिको वार्षिक औसतको तीन गुणा छ, जसले यसको सकारात्मक प्रभावलाई पुष्टि गर्दछ। यो प्रणालीले १,६६५ क्लबहरूलाई अनलाइन अनुपालन प्रक्रियाबाट सफलतापूर्वक समावेश गरेको छ।
महिला फुटबलमा पनि फिफा क्लियरिङ हाउसको फाइदा देखिएको छ, जहाँ १६८ प्रशिक्षण क्लबहरूलाई २७१,५०० अमेरिकी डलरको पुरस्कार वितरण गरिएको छ।

पराग्वे र घानाका स्थानीय क्लबहरूले पहिलोपटक पारदर्शी रूपमा यो रकम प्राप्त गरेको भन्दै प्रशंसा गरेका छन्। क्लबहरूले अब खेलाडीहरूको इलेक्ट्रोनिक पासपोर्ट प्रणालीमार्फत स्वत: पहिचान गरी रकम पाउन थालेका छन्।
फिफा क्लियरिङ हाउसले भविष्यमा अझ सुधार गर्दै फुटबल क्लबहरूका लागि पारदर्शिता र सहजता सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।



