काठमाडौँ। नेपाली मूलका रोशनराज पन्तले माल्टाको फुटबल संघ (MFA) द्वारा मान्यता प्राप्त गर्दै माल्टामा पहिलो नेपाली रेफ्रीको रूपमा इतिहास रचेका छन्। ३६ वर्षीय पन्त, जो काठमाडौंमा जन्मेका र हुर्केका हुन्, अब माल्टाका घरेलु लिगहरूमा रेफ्रीको भूमिकामा खेल सञ्चालन गर्न योग्य भएका छन्।

उनको फुटबल यात्रा निकै प्रेरणादायी छ। एसएलसी पश्चात फुटबलमै रुचि देखाउँदै उनले जेभियर इन्टरनेशनल कलेजमा हरि खड्काको प्रशिक्षणमा खेलाडीको रूपमा पहिलो गोल गर्ने उपलब्धि हासिल गरे। यद्यपि, उनी २०६८/७० मा सशस्त्र प्रहरी बलको क्लबबाट खेल्दा खासै सफलता हात पार्न सकेनन्।

पन्तले खेलाडी जीवनमा विश्राम लिँदै केही समय खेलकुद शिक्षकको रूपमा कान्जिरोवा कलेजमा काम गरे। तर फुटबलको माया त्याग्न सकेनन्। डैफोडिल स्कुलमा फुटसल खेल्दै, उनले ५० भन्दा बढी अन्तरविद्यालय ट्रफीहरू जित्न सफल भए। व्यक्तिगत रूपमा पनि उनले फुटसल टाइटल र सर्वोत्कृष्ट खेलाडीको उपाधि जिते।

२०१८ मा पन्तले फुटबलबाट विश्राम लिएर विदेश यात्रा सुरु गरे, जसले उनलाई पोर्चुगल र जर्मनी हुँदै नेपाल फर्कायो। नेपाल फर्किएपछि उनी फुटसल प्रशिक्षक र रेफ्रीको भूमिकामा सक्रिय भए।
माल्टामा आएपछि उनले फुटबल रेफ्री कोर्स पूरा गरेर परीक्षा पास गरे, र नेपालका पहिलो मान्यता प्राप्त रेफ्री बने। पन्तले भने, “माल्टामा फुटबलको जुन समर्थन र संरचना छ, नेपालमा पनि त्यस्तै बलियो संरचना भएको भए, हामीलाई विदेश जान आवश्यक हुने थिएन। तर, विदेशमा आएर पनि फुटबलसँग जोडिन पाउनु मेरो लागि सौभाग्य हो।”

हाल, रोशनराज पन्त माल्टामा यु-११ देखि सिनियर लिगसम्मका खेलहरूमा रेफ्रीको भूमिकामा सक्रिय छन्। उनले नेपालको फुटबल बिकासका लागि ग्रासरुट स्तरबाटै आधार मजबुत गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।



