
मुम्बई – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को दोस्रो खेलमा नेपाल इटालीसँग १० विकेटले पराजित भएको छ। मुम्बईस्थित वानखेडे रंगशालामा बिहीबार भएको खेलमा नेपालले दिएको १२४ रनको लक्ष्य इटालीले १२.४ ओभरमै कुनै विकेट नगुमाई सहज रूपमा पूरा गर्यो।
पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा १२३ रन बनायो। कप्तान रोहितकुमार पौडेलले २३ रन बनाए भने मोहम्मद आरिफ शेखले २० रन जोडे। करण केसीले १८ तथा दीपेन्द्र सिंह ऐरीले १७ रन बनाए पनि अन्य ब्याटरले ठूलो इनिङ्स खेल्न नसक्दा नेपाल मध्यम स्कोरमै सीमित भयो।
इटालीका बलर क्रिष्ण कालुगमागेले ३ विकेट लिए भने बेन्जामिन मनेंतीले २ विकेट हात पारे। हसन अली, जसप्रीत सिंह र जोन स्मुट्सले समान १–१ विकेट लिए।
१२४ रनको लक्ष्य पछ्याएको इटालीका ओपनर एन्थोनी मोस्का र जस्टिन मोस्काले सुरुदेखि नै आक्रामक ब्याटिङ गर्दै नेपाललाई दबाबमा राखे। एन्थोनीले ३२ बलमा ६४ रन र जस्टिनले ४४ बलमा ६० रन बनाउँदै अविजित शतकीय साझेदारी गरेपछि इटालीले सहज जित दर्ता गर्यो।



