
काठमाडौं । चितवन जिल्ला क्रिकेट संघको आयोजनामा हुने इन्डो–नेपाल टी–२० च्याम्पियनसिप क्रिकेटको तयारी पूरा भएको छ । प्रतियोगिता यही पौष ४ देखि १३ गतेसम्म गौतम बुद्ध क्रिकेट मैदानमा आयोजना हुने संघले जनाएको छ ।
प्रतियोगितामा नेपालबाट नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब र चितवन क्रिकेट क्लब सहभागी हुनेछन् । यस्तै भारतबाट कोलकाताको कोलकाता इन्स्टिच्युट क्लब र दिल्लीको दिल्ली वन्डरर्स क्लब गरी दुई टोलीको सहभागिता रहनेछ । भारतीय टोलीमा रणजी र आईपीएलको अनुभव भएका खेलाडी समावेश हुने आयोजकले जानकारी दिएको छ ।
यस प्रतियोगिताले नेपाल र भारतबीचको खेलकुद सम्बन्ध थप प्रगाढ बनाउने विश्वास आयोजकको छ । दर्शकका लागि बाउण्ड्री बाहिर वान–ह्याण्ड क्याच गर्दा नगदसहित आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ ।
प्रतियोगिताको विजेताले प्राप्त गर्ने पुरस्कार चाँडै घोषणा गरिने चितवन जिल्ला क्रिकेट संघका उपाध्यक्ष उमेश पियाले जानकारी दिए । प्रतियोगिताका खेलहरू हिमालयन प्रिमियम एचडी र मकालु टिभीबाट प्रत्यक्ष प्रशारण हुनेछ ।



